काठमाडौं । मंगलबार सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धारसँग सम्बन्धित वित्तीय कारोबार प्रभावित नहोस् भन्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
गत वर्ष भएको ‘जेन–जी आन्दोलन’को स्मृतिमा सरकारले मंगलबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ २३ गते अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो।
रसुवालगायत विभिन्न जिल्लामा भएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता पुर्याउन बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राहत रकम निकासा, भुक्तानी, नगद व्यवस्थापन तथा उद्धारसँग सम्बन्धित वित्तीय कारोबार सार्वजनिक बिदाका कारण प्रभावित नहोस् भन्ने उद्देश्यले अत्यावश्यक सेवा सञ्चालनको व्यवस्था गरिएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सञ्चालन हुने शाखा तथा उपलब्ध सेवाबारे सरोकारवालालाई उपयुक्त माध्यमबाट जानकारी गराउनसमेत निर्देशन दिएको छ।
यससँगै भदौ २३ गते सार्वजनिक बिदा भए पनि राहत तथा उद्धार कार्यसँग सम्बन्धित अत्यावश्यक वित्तीय कारोबारका लागि बैंकिङ सेवा उपलब्ध हुने भएको छ।

































