काठमाडौं । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
यस्तै, रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ।
बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन सरकारले एकीकृत व्यावसायिक पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायत विभिन्न सहुलियत सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ। उक्त चिनीमा एक प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ।
यस्तै, बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। उद्धारका क्रममा घाइते भएका सुरक्षा कर्मचारीको निःशुल्क उपचार गर्ने र मृत्यु भएमा सम्बन्धित परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

































