काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले दुई वित्तीय संस्था प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।
बैंकको सञ्चालक समितिको भदौ १९ गते बिहान ११ बजे बसेको ३८५औँ बैठकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भदौ १९ गते तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता भएको हो ।
सम्झौतामा मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता बढाउने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
प्रारम्भिक सम्झौतापछि प्रस्तावित प्राप्तिसम्बन्धी विस्तृत अध्ययन तथा मूल्यांकन गरिनेछ । यसक्रममा सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, सेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।


































