काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरूको समायोजन तथा स्थानान्तरण गर्ने निर्णय गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार आगामी २०८३ असार २२ गते (६ जुलाई २०२६) देखि नयाँ संरचना अनुसार सेवा सञ्चालन गरिनेछ।
बैंकका अनुसार मोरङ जिल्लाको विराटनगर महानगरपालिका क्षेत्रमा रहेका कञ्चनबारी शाखा र पुष्पलालचोक शाखालाई समायोजन गरी कञ्चनबारी शाखाबाट सेवा प्रवाह गरिनेछ। कञ्चनबारी शाखा हालको स्थानबाट करिब १०० मिटर दूरीमा स्थानान्तरण भई आर्या अस्पताल नजिक नयाँ ठेगानाबाट सञ्चालन हुनेछ।
यस्तै, काठमाडौं महानगरपालिका–७ स्थित मित्रपार्क शाखालाई चावहिल शाखासँग गाभिने भएको छ। मित्रपार्क शाखा हालको स्थानबाट करिब ७०० मिटर टाढा चावहिलस्थित मेडिकेयर अस्पताल नजिक रहेको शाखामा समायोजन गरिनेछ।
समायोजन र स्थानान्तरणपछि सम्बन्धित शाखामा रहेका ग्राहकका खाताहरू र लकर सेवा समेत नयाँ स्थानबाटै सञ्चालन हुने बैंकले जनाएको छ।
बैंकले ग्राहकहरूलाई लकरमा राखिएका सामग्री समयमै सुरक्षित रूपमा सार्न आग्रह गरेको छ। सूचना अनुसार असार १८ गतेभित्र सम्बन्धित शाखामा गई लकर खाली गर्न अनुरोध गरिएको छ। अन्यथा स्थानान्तरणका क्रममा हुने कुनै क्षतिप्रति बैंक जिम्मेवार नहुने स्पष्ट गरिएको छ।
नयाँ व्यवस्था लागू भएपछि सेवामा सहजता ल्याउने र शाखा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बैंकले जनाएको छ।
































