काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका ग्राहकलाई विभिन्न बैंकिङ सेवा शुल्कमा शतप्रतिशत छुट दिने भएको छ।
बैंकले रसुवाको स्याफ्रुबेँसी, बेत्रावती र त्रिशूली शाखा कार्यालयका खातावालालाई २०८३ साल पुस मसान्तसम्म विभिन्न सेवामा लाग्ने शुल्क पूर्ण रूपमा छुट दिने जनाएको छ।
बैंकका अनुसार डिजिटल बैंकिङअन्तर्गत डेबिट कार्ड जारी तथा नवीकरण, व्यक्तिगत परिचय नम्बर पुनःस्थापना, कार्ड खुला गर्ने तथा हराएको वा बिग्रिएको डेबिट कार्ड पुनः जारी गर्दा लाग्ने शुल्कमा छुट दिइनेछ। यस्तै, मोबाइल तथा इन्टरनेट बैंकिङ दर्ता तथा नवीकरण र पासवर्ड पुनःस्थापनामा लाग्ने शुल्कसमेत छुट हुनेछ।
त्यसैगरी, मुद्दती तथा आवधिक बचत खाता समयअगावै बन्द गर्दा लाग्ने शुल्क र मुद्दती रसिदको दोस्रो प्रति जारी गर्दा लाग्ने शुल्कमा पनि शतप्रतिशत छुट दिइने बैंकले जनाएको छ।
अन्य विविध सेवातर्फ हराएको चेकको सट्टा नयाँ चेक जारी गर्दा, चेकबुकबिना चेक अनुरोध गर्दा, डेबिट तथा क्रेडिट सल्लाहको दोस्रो प्रति जारी गर्दा, ग्राहकको अनुरोधमा विभिन्न सिफारिस तथा पत्र जारी गर्दा र खाताको योजना परिवर्तन गर्दा लाग्ने शुल्कसमेत छुट हुने बैंकले जानकारी दिएको छ।
बैंकले भोटेकोशी बाढीबाट प्रभावित ग्राहकलाई सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरेको जनाएको छ।


































