काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म वित्तीय अवस्थामा सुधार गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा फर्किनुका साथै पूँजी पर्याप्तता अनुपातमा समेत उल्लेख्य सुधार भएको हो।
बैंकको पूँजी पर्याप्तता अनुपात ११.६६ प्रतिशत पुगेको छ।
वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा करिब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको बैंक चालु आर्थिक वर्षमा नाफामा फर्किएको हो।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सुधार देखिएको बैंकले जनाएको छ।
बैंकको विगतको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानी पनि चालु वर्षको नाफाका कारण घटेको छ। यद्यपि सञ्चित नोक्सानी पूर्ण रूपमा हटिसकेको छैन।
यता, बैंकको निष्क्रिय कर्जा अनुपात भने अझै उच्च रहेको छ। चौथो त्रैमाससम्म निष्क्रिय कर्जा ३२.२६ प्रतिशत रहेको छ। यसले आगामी दिनमा कर्जा असुली, कर्जा गुणस्तर सुधार र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखाएको छ।
बैंकले खराब कर्जा नियन्त्रण, कर्जा असुली प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन सुदृढ गर्ने तथा संस्थागत सुशासनलाई थप बलियो बनाउने रणनीति अघि सारेको जनाएको छ।

































