काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले हरेक बर्षका बजेटमा समस्यापछि मात्रै समाधानको बाटनो खोजिने गरेको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बजेटमार्फत पुनः एकपटक मुर्ख बनाईएको बताए ।
‘बजेटले भनेका कुरा सबै ठिक छन् भन्ने होईन, हाल पनि माईतिघरमा केहि व्यवसायीहरु आन्दोलित हुनुहुन्छ,’ उनले भने, ‘आगो लागेपछि कुवा खन्न लागेको जस्तो निजी क्षेत्र र समग्र नागरिकहरुले बजेटमा के कुरा चाहनुहुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि फरक प्रकारको ल्याईयो ।’
उनले बजेटले संघीयतालाई कतै समाउन र कतै छोड्न खोजेको बताए ।
निजी क्षेत्रलाई खास देखिनेगरी इन्सेन्टीभ नै आवश्यक रहेको उनले बताए । छलफल नगरीकन पनि धेरै कुराहरु बजेटमा समेटिएका कारण धेरैजसो योजना र कार्यक्रमहरुमा लय नमिलेको उनले बताए । ‘११ खर्ब उठ्दैन भन्ने जान्दाजान्दै पनि राजस्वको लक्ष्य ठुलो किन बनाउनु ?’, उनले प्रश्न गरे, ‘बजेटमा मुख्य कर परिवर्तनका कुराहरु भन्नैपर्छ निजी क्षेत्रले बजेट सुन्दा राम्रो तर, ऐनहरु पल्टाउँदा झस्किने कामले यसपल्ट पनि निरन्तरता पायो ।’


































