काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को २ दिने भारतको भ्रमणको क्रममा तल्लो अरुण जलविद्युत आयोजनाको शिल्यान्सको विषयले प्राथमिकता पाएको छ । भ्रमणको क्रममा आयोजनाको शिल्यान्सको तयारी भइरहेको बताइएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रायले प्रस्ताव गरेको एजेन्डामा तल्लो अरुण आयोजनाको शिल्यान्सको विषय समावेश गरिएको सहप्रवक्ता शालिकग्राम भण्डारीले जानकारी दिए ।
भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) ले ‘निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण’ (बुट) मोडलमा यो आयोजना अघि बढाइरहेको छ ।
संखुवासभा र भोजपुर जिल्लामा निर्माण भइरहेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको कुल अनुमानित लागत करिब ९२ अर्ब ६८ करोड रुपैयाँ (करिब ६९ करोड अमेरिकी डलर) रहेको छ ।
२०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच परियोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो । यो नदि प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो ।
सम्झौताअनुसार नेपालले यस आयोजनाबाट कुल उत्पादित विद्युतको २१ प्रतिशत अर्थात् करिब १४०.४९ मेगावाट बिजुली निःशुल्क प्राप्त गर्नेछ भने व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण हुनेछ ।
हाल आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) को प्रक्रियासँगै पहुँचमार्ग, जग्गा अधिग्रहण र सुरुङलगायतका प्रारम्भिक संरचना निर्माणका कामहरू भइरहेका छन् ।
माथिल्लो ९०० मेगावाटको ‘अरुण तेस्रो’ आयोजनाकै तल्लो तटीय क्षेत्र (क्यास्केड) भएकाले यसमा छुट्टै बाँध निर्माण गर्नु नपर्ने प्राविधिक सहजता छ । उत्पादित बिजुली ४०० केभी क्षमताको प्रसारणलाइनमार्फत ढल्केबर–सीतामढी हुँदै भारत निर्यात गर्ने योजना छ ।


































