काठमाडौं । The Best Bank in Assets Quality अवार्डबाट सम्मानित भएको गरिमा विकास बैंक १८ औं वर्षमा प्रवेश गरेको छ । आज शुक्रबार (मंसिर ७ गते) बैंकले १८ औं वार्षिकोत्सव कार्यक्रम पनि आयोजना गरेको छ ।
वित्तीय रिपोर्ट र लाभांश इतिहास हेर्दा विकास बैंकहरुमध्ये अधिकांश सूचकमा शीर्ष स्थानमा रहेको यस बैंकले आगामी दिनमा पनि नयाँ उचाई चुम्ने देखिन्छ । उपलब्ध डाटा अनुसार गरिमाले पछिल्लो १३ वर्षदेखि लगातार सेयरधनीलाई २ डिजिटका दरले लाभांश दिएको छ ।
गरिमाले गत वर्षको नाफाबाट पनि लाभांश प्रस्ताव गर्न बाँकी छ । गत वर्ष बैंकको लाभांश क्षमता ५९ करोड ७४ लाख रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको वितरणयोग्य नाफा ६८ करोड ४४ लाख छ । यता, प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ छ भने नेटवर्थ १६२.०७ रुपैयाँ छ ।
गरिमाको निक्षेप संकलनदेखि कर्जा विस्तार पनि आक्रामक बढेको छ । २०७७-७८ मा ६३ अर्ब ९० करोड रुपैयाँ रहेको निक्षेप संकलन ८३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, २०७७-७८ मा ५१ अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको बैंकको हालको कर्जा विस्तार ६८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
सञ्चालनमा आएको यति वर्षमा गरिमाको वित्तीय सूचकहरुमा निकै राम्रो सुधार गरेको छ ।
केही महिना अघिमात्रै भारतीय चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजित 2ndEmerging Asia Banking Conclave and Award कार्यक्रममा गरिमा विकास बैंकलाई The Best Bank in Assets Quality अवार्डबाट सम्मान गरेको हो ।
उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
बैंकको समग्र प्रदर्शन सन्तोषजन देखिएकै कारण यो अवार्डबाट सम्मानित भएकोमा किनै दुई मत छैन । त्यसको पुष्टि यसले लगानीकर्तालाई दिंदै आएको आएको लाभांश दरले पनि देखाउँछ । बैंकको एनपीएल ३.८२ प्रतिशत छ । असोजमा १५.९० रुपैयाँ प्रतिसेयर आम्दानी देखिएको छ । नेटवर्थ भने १६२.०७ रुपैयाँ छ । २०७७-७८ मा १४४.०१ रुपैयाँ थियो ।
गरिमाको दोस्रो बजारमा पनि आकर्षण धेरै नै छ ।
पुँजी/ जगेडा कोष/सञ्चित नाफा
गरिमा विकास बैंकले बोनस सेयर वितरण बाटै पुँजी वृद्धि गरेको देखिएको छ । बैंकले २०७७-७८मा ३ अर्ब ६७ करोड रहेको पुँजीलाई बढाएर अहिले ५ अर्ब ६८ करोड पुर्याएको हो । पुँजी सँगै जगेडा कोषको आकारमा पनि वृद्धि देखिएको छ । १ अर्ब ४ करोड ७७ लाख रहेको जगेडा कोष बढेर २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । सञ्चित नाफा पनि ६८ करोड ४४ लाख पुगेको छ ।

निक्षेप संकलन/ कर्जा परिचालन
असोजसम्मको रिपोर्ट हेर्दा गरिमाले ८३ अर्ब २७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो ४ वर्षमा २० अर्ब भन्दा धेरैले बढेको हो । शाखा विस्तार र ग्राहकलाई निकै राम्रो सेवा दिए बापत बैंकको निक्षेप संकलनमा वृद्धि देखिएको हो । यता, कर्जा परिचालन पनि ६८ अर्ब ४१ करोड पुगेको छ ।

खुद नाफा/खुद ब्याज आम्दानी
गरिमा विकासको खुद ब्याज आम्दानी गत वर्षको असारसम्म ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष बैकले २ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी बढ्दा नाफामा पनि सुधार देखिएको छ । गत वर्ष बैंकले १ अर्ब १३ करोड खुद नाफा कमाएको थियो । अहिले ३ महिनामा २२ करोड ५७ लाख खुद नाफा आर्जन गरेको देखिएको छ । यद्दपि, हालको अवस्थामा पूरै बैंकिङ इन्डष्ट्रिको इम्पेयरमेन्ट चार्जमा वृद्धि देखिएको छ । जसले गर्दा खुद नाफा सोचेजरसी बढ्न सकिरहेको छैन । तर, यस्तो प्रतिकुल अवस्थामा पनि गरिमाले भने लगानीकर्तालाई निरास बनाएको छैन ।

प्रतिसेयर आम्दानी
गरिमा विकास बैंकले पछिल्ला वर्षहरुमा सेयरधनीलाई डबल डिजिटमा लाभांश दिंदै आएको छ । त्यसैले गर्दा यसको सेयरमा लगानीकर्ताको आकर्षण पनि उत्तिकै छ । अघिल्लो वर्षको नाफाबाट बैंकले १० प्रतिशत लाभांश दिएको थियो । गत वर्षको लाभांश घोषणा हुन बाँकी छ ।
प्रतिसेयर आम्दानी पनि यसको डबल डिजिटमै हुने गरेको छ । पछिल्ला वर्षहरुको तथ्यांकलाई हेर्ने हो भने यसको इपीएस २० रुपैयाँ भन्दा माथि नै छ । कम्पनी कतिको मजबुत बन्दैछ भन्ने कुरा यसको नेटवर्थबाट पनि देख्न सकिन्छ । गरिमाको नेटवर्थ हरेक वर्ष बढेको छ । असोजमा बैंकको नेटवर्थ १६२.०७ रुपैयाँ देखिएको छ । जुन तुलनात्मक रुपमा हेर्दै धेरै नै हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।




































