काठमाडौँ । नेपाली समाजमा एउटा भाष्य निर्माण भएको छ कि इन्जिनियरिङ विषयमा स्नातक गरिसकेपछि नेपालमा जागिर वा अवसर नै छैन भन्ने। कडा परिश्रमका बाबजुद प्राविधिक ज्ञान र प्रमाणपत्र सहितका हजारौँ ऊर्जाशील, श्रमशील युवा इन्जिनियरहरू काम नपाएर बेरोजगार भएर बस्नु नै नेपालको इन्जिनियरिङ क्षेत्रको पिडा भएको कतिपयको कथन छ। यस कारणले इन्जिनियरिङमा स्नातक गरिसकेका युवा इन्जिनियरहरू कसरी भविष्य बनाउने भनेर अन्योलमा पर्ने गरेको समस्या नयाँ होइन।
तर भक्तपुरको ख्वपा इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक गरेका रमेश तिमिल्सिनाले भने यो कुरालाई गलत साबित गरिदिएका छन् ।

ठुला भवन तथा भौतिक संरचनाका परियोजनामा जस्तो सिभिल इन्जिनियरहरू खटाएर नक्साङ्कन गरी घर निर्माण गर्ने आर्थिक क्षमता सबैमा हुदैन् । यस्तै नाफामुखी मानसिकता बोकेका नेपाली ठेकेदार तथा ठेकेदार कम्पनीहरूले कस्तो घर बनाइदिन्छन् भन्ने कुराको पनि ग्यारेन्टी नहुने अवस्थालाई स्किल सेवाले आफ्नो स्टार्टअप भिजन बनाएर अगाडि बढ्यो ।
सन् २०१८ मा इन्जिनियरिङमा स्नातक गरिसकेपछि रमेश र उनका केही साथीहरूले आफ्नो पकेट मनीबाट स्किल सेवा कम्पनीको सुरुवात गरेको कम्पनीका सिईओ रमेश तिमिल्सिनाको भनाई छ । ‘इन्जिनियरिङ पढ्दै गर्दा हामीहरू पानी, तथा टनेलहरूको बारेमा रिसर्च प्रोजेक्ट गर्दै थियौँ तर त्यसमा खासै फाइदा नदेखेपछि, त्यो सबै प्रोजेक्टहरू छाडेर ब्याचलर सकिएको भोलिपल्टदेखि हामीहरूले यो कम्पनी सुरु गरेका थियौँ ।’ तिमिल्सनाले आर्थिक भ्वाइससँगको कुराकानीमा भने ।
उनले अगाडी थपे, ‘मान्छे बिरामी भए कुन हस्पिटल जाने, कुन डाक्टरलाई भेट्ने ? कुन औषधी खाने भन्ने थाहा हुन्छ तर जीवनभरिका लागी भनेर करोडौँ रुपैयाँ खर्च गरेर बनाएको घरमा समस्या देखियो भने कसलाई भन्ने, कता गएर उपचार गर्ने भन्ने प्रश्नको उत्तर दिनका लागि हामीले यो कम्पनीको सुरुवात गरेका हौ।’
कम्पनीको सुरुवाती लगानी १० हजारभन्दा कम भएको तिमिल्सिनाको भनाई छ । ‘सुरुवाती चरणमा पकेट मनी कटाएर करिब १० हजारभन्दा कमको लगानीमा हामीले यो कम्पनीलाई बबरमहलमा एक स्टोरबाट सुरु गरेका हौ । काम गर्दै जाँदा राम्रै भइरहेको अनुभव हामीले गरेका छौ । हामीलाई सेवाग्राहीले विश्वास गरिरहेकै छन् । गत वर्षको अडिट रिपोट हेर्ने हो भने वार्षिक ६ करोडसम्मको आर्थिक ट्रान्जेक्सन भएको देखिन्छ ।’ उनले आर्थिक भ्वाइससँग भने ।
स्किल सेवाले गर्ने मुख्य काम भनेको पुरानो घरको निरीक्षण गर्दै समस्या र समाधान सहितको बिस्तृत रिपोट तयार पार्ने हो । तर ग्राहकहरूले चाहे अनुसार मर्मतको लागि चाहिने सामाग्री तथा जनशक्ति पनि स्किल सेवाले उपलब्ध गराउँदै आएको छ । यस्तै आगामी दिनहरूमा पनि बजारको मागअनुसारका नयाँ टेक्नोलोजीमा आधारित थप सेवाहरू प्रवाह गर्ने कम्पनीको तयारी रहेको सिईओ तिमिल्सिनाको भनाई छ।

‘हामीले दिने मुख्य सेवा भनेको पुराना तथा समस्याग्रस्त घरहरूको चेकजाँच गरी आवश्यक सुझाव सहितको रिपोट तयार पार्ने हो । योसँगै उनीहरूले चाहेको खण्डमा मर्मतका लागि आवश्यक पर्ने सामाग्री तथा प्रविधिकहरु समेत उपलब्ध गराउँदछौ ।’ उनले भने, ‘ यो बाहेक यदी तपाईँले कुनै घर खरिद गर्दै हुनुहुन्छ भने घरको अवस्था ठिक छ कि छैन, घरभित्रको मेसिन, विद्युतीय वा अन्य कुनै संरचनात्मक कमजोरी वा त्रुटिहरू छ छैनन् भनेर पनि निरीक्षण गरिदिन्छौ ।’
तिमिल्सिनाले भने, ‘यसका लागि हामीसँग करिब ६० जनाको आफ्नै प्राविधिक टोली तथा सिभिल इन्जिनियरहरूको समूह छ । यस्तै घर तथा भवन निरीक्षणका लागि कम्पनीसँग नयाँ टेक्नोलोजीमा आधारित दर्जनौँ हाई टेक डिभाइसहरू पनि हामीसँग उपलब्ध छन्।’ स्किल सेवाले पुरानो घरको निरीक्षण बाहेक स्किल सेवाले कन्स्ट्रक्सन इन्सपेक्सन पनि गर्ने गर्दछ । जस अन्तर्गत ठेकेदारले घर निर्माण गर्दै गर्दा सम्झौता अनुसार निर्माण प्रक्रिया र संरचनामा आवश्यक पर्ने प्राविधिक प्रक्रिया पनि पुरा गरेको छ/छैन भनेर सिसिटिभीबाट निरीक्षण गर्ने गरेको समेत उनले बताएका छन्।
कम्पनीले हालसम्म ४० हजार बढी घरहरूको निरीक्षण गरिसकेको कम्पनीका सीइओ तिमिल्सिनाको भनाई छ । हालसम्म काठमाडौँ उपत्यका सहित देशको पश्चिमी क्षेत्रमा बाहेक लगभग पुरा देशभर सेवा दिइरहेको उनको भनाई छ। ‘हामीले अहिले काठमाडौँ उपत्यकाका तीन जिल्ला इटहरी, चितवन, बुटवल, पोखरा, हेटौँडा र धरान जस्ता सहरबाट पनि सेवा दिइरहेका छौ । जसबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ सय बढी मानिसले रोजगारी पाइरहेका छन् ।’ तिमिल्सिनाले थप स्पष्ट पार्दै भने
कम्पनीले घरको निरीक्षणसँगै र मर्मत संहार र प्याकेजको क्याटेगोरी अनुसार रिनोभेसन र त्यसका लागि जनशक्ति, तथा निर्माण सामग्री उपलब्ध गराउने सुविधा पनि कम्पनीले दिने गरेको छ । स्किल सेवाको सेवा लिनुपरेको खण्डमा सेवाग्राहीहरूले वेबसाइटको च्याटबडमा म्यासेज गर्न तथा वेबसाइटबाटै सीआरएम फर्म भर्न सक्ने उनी बताउँछन् । सिईओ तिमिल्सिनाले अहिले ५० ओटा भन्दा बढी घरको म्यानेजमेन्ट हेरिरहेको भन्दै आगामी दिनहरूमा आवश्यकता अनुसार आइपिओ समेत जारी गरेर कम्पनीलाई थप सबल र सक्षम बनाउने सोचका साथ अगाडि बढेको उनको भनाइ छ ।
साथै, कम्पनीको सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा मानसिक सोचको विस्तार गरिरहकेका तिमिल्सिना भन्छन् ' मलाई लाग्छ अब हामी छिट्टै भारतमा पनि सेवा दिन सकिने छ हामी यस विषयमा चासोका साथ अध्ययन बढाएका छौ , आगामी दिनमा कम्पनीको कार्यक्षेत्र बढाउनु नै मेरो मुख्य संकल्पन भएको छ''

































