आर्थिक भ्वाइस संबाददाता
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक जग्गा संरक्षण गरी १४ वटा पार्कको निर्माण गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ती पार्क निर्माण गरेको हो ।
प्राधिकरणका अनुसार, १४ वटा पार्क १२ करोड ११ लाख रूपैयाँको लगानीमा बनेका हुन् । उपत्यका भित्र चालु आवमा प्राधिकरणले १६ वटा पार्क निर्माण गर्ने लक्ष्य लिएको थियो ।
बजेट अभावका कारण बाँकी २ वटा पार्कको काम अगाडी बढाउन नसकेको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले बताए । उनका अनुसार काठमाडौंमा एउटा र ललितपुरमा एउटा पार्क निर्माणको काम बाँकी छ ।
प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ ती पार्कहरूको तयार गरेको उनको भनाई छ ।
‘हामीले सार्वजनिक जग्गाको संरक्षण गरी उपत्यका विभिन्न ठाउँमा पार्क निर्माण गरेका छौँ, यो मल्टिपल पार्कको योजना हो, अहिले शहरको अति आवश्यक चिज भित्र पार्क पनि पर्छ, त्यसैले पार्कको योजना बनाएर कार्यान्वयन गरेका हौँ,’ उनले भने । ‘हामीले यस वर्ष १६ वटा पार्क बनाउने लक्ष्य थियो त्यसमा संभवत अव २ वटाको मात्रै निर्माण कार्य सकिएको छैन अरू लगभग सकियो ।’
पार्कअनुसारका फरक–फरक सेवा सुविधा छन् । जलवायु अनुकूल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको पार्क निर्माण भएका छन् ।
कहाँ–कहाँ बने पार्क ?
प्राधिकरणले भक्तपुरमा ४ वटा , काठमाडौंमा ४ वटा र ललितपुरमा ८ वटा गरी १६ वटा पार्क चालु आवमा निर्माण गर्ने लक्ष्य लिएको थियो । जसमध्ये ललितपुरमा ६ वटाको निर्माण कार्य सम्पन्न भैसकेको छ भने एउटा अन्तिम चरणमा रहेको छ र अर्कोको ४० प्रतिशत काम सम्पन्न भैसकेको छ ।
त्यसै गरी, भक्तपुरमा ३ वटा पार्क निर्माण सम्पन्न भैसकेको छ बाँकी रहको एउटा पार्कको निर्माण कार्य ७० प्रतिशत सकिएको छ ।
यता काठमाडौंमा दुई वटा पार्क निर्माणको काम सम्पन्न भइसकेको छ । चम्पादेवी पार्क निर्माणको अन्तिम चरणमा रहेको छ भने अर्को कागेश्वरी मन्दिर क्षेत्रमा सार्वजनिक पार्क निर्माणको कार्य ४५ प्रतिशत सकिएको ढकालले जानकारी दिए ।
काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा चम्पादेवी पार्क निर्माण निर्माणका लागि २ करोड २६ लाख छुट्टाइएको थियो । काठमाडौं भित्रका विभिन्न सार्वजनिक जमिनको पहिचान गरी सार्वजनिक जग्गाको सिमाना संरक्षण गर्दै हरियाली उद्यान निर्माण गरेको छ ।
त्यसै गरी भूक्षय संरक्षण, सीढी निर्माण, पोखरी संरक्षण, डाँची, तेलिया लगाउने कार्य, फाउन्टेन निर्माण, दुबो रोप्ने पार्क निर्माण, पाटी निर्माण, दुबो रोप्ने कार्य, डाँची, तेलिया लगाउने, ढुङ्गा छाप्ने कार्य, ब्लक छाप्ने, दुबो रोप्ने, माःअप्पा लगाउने, ढुङ्गा छाप्ने कार्य, ब्लक छाप्ने, प्लाजा निर्माण कार्य लगायतका कार्य भएको ढकालले बताए ।
यस्तै, शंकरापुर नगरपालिका वडा नंं ७ स्थित धार्मिक पर्यटन स्थल साली नदिमा पार्क निर्माण गर्ने कार्य, टोखा नगरपालिका वडा नंं. ६ मा रहेको हात्ती टोल ढुङगेधारा पुन निर्माण तथा सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य , नागार्जुन न.पा वडा नं ७ स्थित घटाल बाबा मन्दिर क्षेत्रको जग्गा संरक्षण तथा पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ ।
शंकरापुरमा र टोखामा सार्वजनिक जग्गा सिमाङ्कन गरिएको, नार्गजुन घटाल बाबामा मन्दिर को संरक्षणको लागि पर्खाल र आवागमनका निम्ति सिँढी निर्माण गरिएको छ। यी सबै कार्यका लागि ६९ लाख खर्च भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
यसै गरी, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको ढुङ्गेकोट र लुभु माध्यमिक विद्यालय पछाडिको जग्गा संरक्षण गरी पार्क निर्माण भएको छ । सो ठाउँमा पार्क निर्माण गर्नको लागि करिब एक करोड रुपैयाँ लागेको बताइएको छ ।
ललितपुर महानगर वडा नम्बर २५ भैँसेपाटीको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण भएको पनि ढकालले बताए । ललितपुर महानगर वडा नम्बर १३ मच्छिन्द्र पार्क निर्माण गर्न र छैखेल एकान्तकुना र वडा नम्बर २१ खोकना स्थित पंचो पार्क गरिएको छ । गोदावरी नगरपालिका.– १४ स्थित ठैव बाडेगाउँमा फोड्गा पोखरी, श्वेत बाराही मन्दिरको पार्क, कमल पोखरी संरक्षण तथा डाँची, तेलिया लगाउने कार्य, फाउन्टेन निर्माण, दुबो रोप्ने कार्य सम्पन्न भएको छ ।
त्यस्तै हनुमान घाट, भक्तपुर नगरपालिका–७, भक्तपुर, गणेशमान स्मृतीपार्क विकास कार्य, सूर्य विनायक नगरपालिका–५, कटुन्जे र चाँगुनारायण नगरपालिका–५, छालिङमा ढुङ्गा छाप्ने कार्य, सार्वजनिक जग्गाको सिमाना संरक्षण पार्क निर्माण, पाटी निर्माण, दुबो रोप्ने कार्य, डाँची, तेलिया लगाउने कार्य लगायतका कार्य भएका छन् ।


































