काठमाडौं। संविधान दिवसको अवसर पारेर आज धरहरा सर्वसाधरणका लागि खुला गरिएको छ । केही समयका लागि धरहरा निस्शुल्क चढ्न पाइने भएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।
निःशुल्क प्रवेश गर्न भने dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्नु पर्नेछ ।
एक दिनमा ६०० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । त्यसमध्ये १०० कोटा वृद्ध, अशक्त, अपाङ्गता रहेकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टामा १०० जनाले धरहरा चढ्ने गरी व्यवस्था मिलाइएको छ । यससँगै, बिहीबार बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाधारणको भिडभाड रहेको छ।
शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो । मन्त्रालयले शहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहराको व्यवस्थापनको जिम्मेवारी दिएको छ ।
साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको छ । नयाँ धरहराको मोटाइ पहिलाको धरहराभन्दा भने ठूलो छ । धरहरामा भर्याङ छन् भने दुईवटा लिफ्ट राखिएकाे छ ।



































