काठमाडौं। एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। जगदिश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यलय लैनचौरमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा। जगदिश्वर कर्माचार्यले भने, ‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ ।
ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहकालागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो । थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको योे सहकार्य एक अर्को कोशेढुङ्गा हो । एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफल भएका छौ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा गौरवान्वित भएको बताए । उनले भने, ‘हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो ।
सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौँ ।’
पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताइएको छ ।


































