काठमाण्डौं। डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन नेपाल राष्ट्र बैंकले पुन सचेत गराएको छ।
वित्तीय चेतनाका लागि आज (मंगलबार) सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोबार गर्न आग्रह गरेको छ ।
साथै केन्द्रीय बैंकले विभिन्न निकायका उच्च पदस्थ व्यक्ति तथा संस्था प्रमुखहरुका नाम र तस्बिर दुरुपयोग गरेर ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा अकाउन्ट बनाई वा ई–मेल आईडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको बताएको छ।
केन्द्रीय बैंकले सन्देशमार्फत् चिनजानका व्यक्ति वा उच्च पदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले त्यस्ता सन्देशको विश्वास नगर्न र होसियारी अपनाउन आग्रह गरेको छ ।
साथै वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकिन भएपछि मात्र कारोबार गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।
































