National life

दशैं–तिहार यात्रा सहज बनाउन सरकारको तयारी, यातायात विभागले जारी गर्‍यो १५ बुँदे निर्देशन

दशैं–तिहारका लागि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ घण्टा अगाडि|०७ असोज २०८३, बुधबार
696Shares
दशैं–तिहार यात्रा सहज बनाउन सरकारको तयारी, यातायात विभागले जारी गर्‍यो १५ बुँदे निर्देशन
ncell

काठमाडौं । दशैं, तिहार र छठलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातमा यात्रुको चाप र दुर्घटनाको जोखिम व्यवस्थापन गर्न तयारी तीव्र पारेको छ। यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिँदै अनलाइन टिकट, चालकको मापसे–लापसे परीक्षण, लामो दूरीका सवारीमा दुई चालक तथा अतिरिक्त सवारीसाधनको व्यवस्थासहित १५ बुँदे निर्देशन जारी गरेको छ।

तर, अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने विभागले अहिलेसम्म तोकेको छैन। विभागले यातायात व्यवसायीलाई सकेसम्म अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

Royal Enfield
nic asia capital

यात्रुवाहक सवारी सञ्चालन गर्दा यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी राख्नुपर्नेछ। त्यस्तै, टिकट बिक्री गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने र अनधिकृत काउन्टर वा परिचयपत्र तथा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न विभागले निर्देशन दिएको छ।

उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत सम्बन्धित निकायबीच समन्वय गर्ने व्यवस्था मिलाइने भएको छ।

विभागले यात्रुलाई सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै, मादक पदार्थ सेवन गरेर यात्रा नगर्न तथा आधिकारिक काउन्टर र परिचयपत्र भएका कर्मचारी वा व्यक्तिबाट मात्रै टिकट लिन अनुरोध गरिएको छ।

सवारी चालक तथा कर्मचारीले सरकारले तोकेको मापदण्डअनुसार तोकिएको स्थानमा यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्नेछ। यस्तो क्रममा अनावश्यक भीडभाड हुन नदिनसमेत विभागले निर्देशन दिएको छ।

चाडपर्वका समयमा यात्रुवाहक सवारीको चाप बढ्ने भएकाले मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण र आवश्यक मर्मत–सम्भार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

पहिरो नियन्त्रण तथा सडक जाम हुन नदिने व्यवस्था मिलाउन र सडकको अवस्थाबारे सर्वसाधारणलाई नियमित जानकारी गराउन सडक विभागलाई अनुरोध गरिएको छ।

त्यस्तै, यात्रुको चाप व्यवस्थापन गर्न आवश्यक अतिरिक्त सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्नुपर्नेछ।

विभागले यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावतका विषयमा सरोकारवालासँग थप छलफल गर्ने र यातायात सञ्चालनको मिति तथा समयावधि तोकेर सूचना जारी गर्ने व्यवस्था मिलाउन पनि भनेको छ।

चाडपर्वका बेला दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षणमा समेत कडाइ गरिने भएको छ। उपत्यकाका प्रमुख प्रवेश तथा बाहिरिने नाकासहित देशभर मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न विभागले निर्देशन दिएको छ।

कुनै चालक मापसे वा लापसे गरेको अवस्थामा भेटिए सम्बन्धित व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।

लामो दूरीका यात्रुवाहक सवारी गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्था लगायतका विषयमा अनिवार्य चेकजाँच गर्नुपर्नेछ।

त्यसैगरी, लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीमा कम्तीमा दुई जना चालक राख्नुपर्ने र आलोपालो गरी सवारी चलाउने व्यवस्था गर्नुपर्नेछ। उक्त व्यवस्था भए–नभएको सम्बन्धित निकायले अनुगमन गर्नेछ।

विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य कुनै काममा नलगाउन पनि स्पष्ट निर्देशन दिएको छ।

चाडपर्व नजिकिँदै जाँदा यात्रुवाहक सवारीसाधनको चाप बढेर दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले त्यसलाई ध्यानमा राखी प्रभावकारी अनुगमन तथा निगरानीको व्यवस्था गर्न विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?