काठमाडौँ । सरकारले अन्तरप्रदेशमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीको भाडादर परिमार्जन गरेको छ । यातायात व्यवस्था विभागले छोटो, मध्यम र लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीका लागि नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ व्यवस्थाअनुसार तराई र पहाडी क्षेत्रका विभिन्न सडकमा सञ्चालन हुने सवारीको दूरीका आधारमा भाडा निर्धारण गरिएको छ । तराईको पक्की तथा ग्राभेल सडकमा २५० किलोमिटरभन्दा लामो दूरीका लागि प्रतिकिलोमिटर प्रतियात्रु २ रुपैयाँ ९३ पैसा भाडा तोकिएको छ । त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर ३ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ सडकखण्डमा भने प्रतिकिलोमिटर प्रतियात्रु ३ रुपैयाँ २४ पैसा भाडा निर्धारण गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार आधिकारिक रूपमा डिलक्स सुविधा प्रमाणित भएका सवारीले सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन पाउनेछन् । सुपर डिलक्स सुविधा प्राप्त सवारीले भने डिलक्सको भाडादरमा थप २० प्रतिशत जोडेर भाडा लिन सक्ने व्यवस्था गरिएको छ ।
विभागले सार्वजनिक गरेको आचारसंहिताले विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई तोकिएको सहुलियत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।
यस्तो छुट निश्चित मार्ग, कोटा वा दिनमा सीमित गर्न नपाइने उल्लेख छ । सहुलियत प्राप्त गर्न यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ ।
लामो दूरीमा रातको समयमा सञ्चालन हुने बसमा कम्तीमा दुई जना चालक राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । चालक तथा सहचालकले परिचय खुल्ने परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्नेछ ।
तोकिएको दरभन्दा बढी भाडा असुल गरेको पाइएमा कारबाही गरिने विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको गुनासो हेलो सरकारको निःशुल्क टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा गर्न सक्नेछन् ।
यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडादरसमेत निर्धारण गरिएको छ । तराई क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ ७७ पैसा दर कायम गरिएको छ । १० टन क्षमतालाई आधार मानेर विभिन्न गन्तव्यका लागि छुट्टाछुट्टै भाडादर तोकिएको छ ।
निर्धारित दरअनुसार वीरगञ्जदेखि काठमाडौँसम्म पहाडी मार्ग हुँदै सामान ढुवानी गर्दा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवादेखि काठमाडौँसम्म ३२ हजार १४१ रुपैयाँ कायम गरिएको छ ।
नयाँ व्यवस्थाले सार्वजनिक यातायात तथा मालसामान ढुवानीको भाडा निर्धारणलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । यात्रुले भने यात्रा गर्नुअघि आफ्नो गन्तव्यको आधिकारिक भाडादर बुझेर मात्र टिकट लिनु उपयुक्त हुनेछ ।
PDF लोड हुँदैछ...



































