काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले लाभांशसम्बन्धी प्रस्ताव अघि बढाएको हो।
बैंकका अनुसार हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँको करसहित ७ प्रतिशतले हुन आउने १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, बैंकले ३ अर्ब रुपैयाँ बराबरको एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिने बैंकका कम्पनी सचिव प्रमोदकुमार दाहालले जानकारी दिएका छन्।



































