काठमाण्डौ। आज राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् ।
अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्न लागेका हुन् ।
राष्ट्रपतिले उक्त अवसरमा जेठ ३१ गते उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलले स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।
भ्रमण दलमा राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सविता परराष्ट्र मामिला विज्ञ डा.सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू,स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने छन् ।


































