काठमाडौँ। मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर एशियाली मुलुकहरूमा देखिन थालेको छ, जसको कारण फिलिपिन्सले राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ। सीएनएनले प्रकाशित गरेको रिपोर्टअनुसार, चरम इन्धन अभाव र बढ्दो तेल मूल्यले आपतकालिन घोषणा गराउने परिस्थिति सिर्जना गरेको हो।
विज्ञहरूका अनुसार अमेरिका, इजरायल र इरानबीचको संघर्षले विश्वव्यापी इन्धन आपूर्ति र मूल्यमा अस्थिरता ल्याइरहेको छ। यसले एशियाका देशहरूमा दैनिक जीवन र उद्योग क्षेत्रमा गम्भीर असर पार्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
सीएनएनको रिपोर्टअनुसार, दक्षिण कोरियाले पनि उर्जाको कमीको सामना गर्दै देशव्यापी उर्जा बचत कार्यक्रम लागू गरेको छ। त्यस्तै, थाइल्याण्डले कर्मचारीहरूलाई कार्यालयमा सुट नलगाउन र वातानुकूलनको प्रयोग घटाउन अनुरोध गरेको छ।
रिपोर्टमा हजारौं माइल टाढाको युद्धले फिलिपिन्स र अन्य एशियाली देशहरूमा इन्धन अभाव, तेलको मूल्य वृद्धि र दैनिक जीवनमा प्रतिकूल प्रभाव पारिरहेको उल्लेख छ।


































