काठमाडौँ । नेपाल बिमा प्राधिकरणको एक तथ्यांक अनुसार आर्थिक वर्षको कात्तिक मसान्तसम्म बिमा कम्पनीहरूले कुल ६८ अर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् ।
हाल सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले कार्तिक मसान्तसम्म उक्त रकम बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बिमा शुल्क संकलन ९.४४ प्रतिशतले बढेको हो।
गत आवको कात्तिकसम्म बिमा कम्पनीहरूले ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए। यस अवधिमा जीवन बिमा कम्पनीहरूले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ तथा निर्जीवन बिमा कम्पनीहरूले १४ अर्ब ३५ करोड ८६ लाख बिमा शुल्क संकलन गरेका हुन्। गत वर्षको यसै अवधिको तुलनामा जीवन बिमा कम्पनीहरूको व्यवसाय ८.६१ प्रतिशत तथा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय १२.६४ प्रतिशतले बढेको हो।
यो अवधिमा जीवन बिमा कम्पनीहरूले ११ अर्ब १ करोड ६ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका हुन् भने बिमा लेख नवीकरणबाट ४२ अर्ब ६८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन्। गत आवको कात्तिकको तुलनामा जीवन बिमा कम्पनीहरूको प्रथम बिमा शुल्क २७.६१ प्रतिशत तथा नवीकरण शुल्क ४.६० प्रतिशतले बढेको हो।
बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्मको तथ्यांक अनुसार बिमाको दायरामा आएको कुल जनसंख्या ४२.९२ प्रतिशत मात्रै छ। यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बिमा लेखसहितको हो । प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बिमा बाहेक गत कात्तिकसम्म १७.१६ प्रतिशत जनसंख्या मात्रै बिमाको दायरामा आएको देखिन्छ।


































