काठमाडौं — नेपाल बिमा प्राधिकरण करिब एक वर्षदेखि नेतृत्वविहीन हुँदा पनि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अझै अघि बढ्न सकेको छैन ।
अध्यक्ष नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको दुई महिना बितिसक्दा समेत सरकारले उम्मेदवार छनोट (सर्टलिस्ट) र अन्तर्वार्ताको प्रक्रिया सुरु गरेको छैन ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित सिफारिस समितिले गत जेठ १३ देखि १९ गतेसम्म आवेदन माग गरेको थियो । उक्त अवधिमा ५१ जनाले आवेदन दिएका छन् ।
तर, हालसम्म आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन भने अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतीकरणका लागि उम्मेदवार छनोटसमेत हुन सकेको छैन ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले आवेदन धेरै भएकाले मूल्यांकन प्रक्रिया लम्बिएको हुन सक्ने बताए । उनका अनुसार सिफारिस समितिले उम्मेदवारहरूको मूल्यांकन गरिरहेको छ ।
अध्यक्ष नियुक्तिका लागि गठित समितिले तोकिएको मापदण्डका आधारमा पाँच जनालाई अन्तर्वार्ताका लागि छनोट गर्नुपर्नेछ । त्यसपछि अन्तर्वार्ता र प्रस्तुतिका आधारमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
यसअघि यही समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पूरा गरिसकेको छ । बोर्डको अध्यक्ष भने गत असारमा नियुक्त भइसके पनि बिमा प्राधिकरणको नेतृत्व चयन अझै टुंगिन सकेको छैन ।
प्राधिकरणको अध्यक्ष पद रिक्त हुँदा नियामकीय काम, नीति निर्माण र बजार व्यवस्थापनमा समेत प्रभाव पर्ने भन्दै सरोकारवालाले नियुक्ति प्रक्रिया छिटो टुंग्याउन माग गर्दै आएका छन् ।

































