काठमाडौँ । अमेरिकी राजदूत डीन आर थम्सनले परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
राजदूत डीन आर थम्सनले शुक्रवार सिंहदरबारस्थित परराष्ट्र तथा गृह मन्त्रालय पुगेर दुवै मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्री आरजु राणा देउवासँगको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ । उनीहरूबिच नेपाल अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।
भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको गृह मन्त्रालयले जनाएको छ ।


































