काठमाडौं । । मङ्सिर ३० देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट रोकिएको फ्लाई दुबईले फेरि पुस २९ देखि पुनः उडान सुचारु गर्ने भएको छ ।
मौसमको कारण देखाउँदै दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले पुस २९ देखि पुनः उडान सुरु गर्ने भएको हो । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई दैनिक उडान गर्दै आएको थियो तर खराब मौसमका कारण देखाएर मङ्सिर ३० बाट उडान रोकेको थियो ।
मौसममा खराबी हुँदा यहाँको विमानस्थल खुलेपछि मात्र दुबईबाट जहाज उड्ने गर्दा अन्य नियमित उडानसमेत प्रभावित भएकाले उक्त फ्लाई रोकिएको थियो ।
आगामी माघको १० गतेपछि भू–उपग्रहमा आधारित आरएनपी एआर प्रविधिमार्फत उडान अवतरण हुने जानकारीमा आएको र यो प्रविधि सुरु भएपछि उडान र अवतरणमा सहज हुने बताइएको छ। पछिल्लो समय हिउँदमा प्रतिकूल मौसमका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित भइरहेको छ ।
































