काठमाडाैं । आसन्न चाड पर्वमा कालोबजारी नहोस् भनी अनुगमनलाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले उपभोक्ता नठगिउन् भन्ने हेतुका साथ काठमाडौं उपत्यका मुख्य मुख्य स्थानमा अनुगनमलाई तिव्रता दिएको जनाएको छ ।
विभागका अनुसार, उपत्यकाका मुख्य व्यापारिक केन्द्र सुन्धारा, महाबौद्ध, पाटन ढोका, कुलेश्वर, कालीमाटी, मिनभवन, महालक्ष्मी, खिचापोखरी लगायतका स्थानका खाद्य, गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी, फर्म, संस्था, कम्पनी व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमन गरी कारवाही गरेको छ ।
दशैं सकिएपछी बिहीबार सम्म ४ दिनमा विभागले ७५ स्थानमा अनुगमन गरिसकेको छ ।
चाडपर्व लक्षित विशेष कार्यक्रम अन्र्तगत उपभोक्ता हितका लागि विभिन्न अनुगमन टोली खटिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । उनका अनुसार अनुगमनको दायरा बढाएका कारण गत वर्षको तुलनामा यस वर्ष धेरै फर्महरु कारवाहिमा परेका छन् । चाडपर्वको अवसरमा मासिक रुपमा ७ सय देखि ८ सय फर्महरु अनुगमन गर्ने लक्ष्य पुरा गरिरहेको आर्थिक भ्वाइसलाई बताए ।
प्याज तथा चिनीको मुल्य ह्वात्तै बढेको सन्दर्भमा उनले प्याजको मुल्य अन्तर्राष्ट्रिय बजारमै बढेको तथा भारतले चिनी पठाउन कम गरेपछी चिनीको हुन नसकेको बताए । उक्त समस्याको समाधानका निम्ती विभागले विभिन्न पहलकदमी चालिरहेको प्रवक्ता भट्टराईको भनाई छ । उनले तिहार अघि नै चिनीको सप्लाईमा सहजता हुने बताए ।


































