काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा चाडवाड लक्षित गर्दै ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँ तिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका तथ्यांकअनुसार पछिल्लो तीन महिनाको अवधिमा २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, १८ करोड ६० लाखको दुई लाख ३२ हजार छ सय ९३ केजी बदाम र अलमण्ड आयत भएको छ । २० करोड ९८ लाख सात हजार दुई सय २५ केजी ओखर आयात भएको छ।
यस्तै, यो अवधिमा एक करोड ४५ लाख बराबर मूल्यकोे १२ हजार सात सय ७७ केजी पिस्ता , २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी, एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात भएको छ।
४१ हजार पाँच सय ५० केजी अंजिर दुई करोड ६५ लाख, तीन लाख २४ हजार ६ सय ७५ केजी किसमिस १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै, चार करोड ७४ लाख मूल्यमा दीपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन् ।
भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ। तुलनात्मक रूपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ । यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्यांकमा उल्लेख छ।


































