काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा आर्जन गरेको छ ।
चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ। यस्तै उक्त अवधिमा रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको खर्च प्राधिकरणले जनाएको छ ।
सो अवधिमा प्राधिकरणले रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ ।
गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ। सो अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी रु १० अर्ब ८८ करोड ८७ बराबरको आम्दानी गरेको छ।
प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट रु ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि रु २१ अर्ब नौ करोड १७ लाख बराबरको भुक्तानी गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।
नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत रु १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार बराबर खर्च भएको छ। विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि रु १० अर्ब ८८ करोड ३८ लाख १० हजार बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ।


































