काठमाडौँ । यस वर्षको दशैंका लागि नयाँ नोट सटही गर्नेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । आइतबार साँझसम्म ९४ करोड बराबरको सुकिलो नोट सतही भएको छ ।
यस वर्षको दशैंको पुर्वसन्ध्यामा भारी वर्षाका कारण देशभरका राजमार्गहरू अवरुद्ध बनेसँगै सुकिला नोट सतही गर्नेको सङ्ख्या न्यून रहे पनि बिस्तारै देशभर अवरुद्ध भएको सडक खुल्न थालेसँगै रकम सतही गर्नेको सङ्ख्यामा वृद्धि भएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता तथा सूचना अधिकारी डिल्लीराम पोखरेका अनुसार आइतबारसम्म सुकिला नोट ९३ करोड ८० लाख साटफेर भएको जानकारी दिएका छन् ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै सूचना अधिकारी पोखरेलले सुकिला नोट साट्नेको सङ्ख्या शुक्रवारसम्म ६२ करोड मात्रै भएपनि आइतबारका दिन सतही रकम ह्वात्तै बढेर ९३ करोड ८० लाख पुगेको जानकारी दिएका छन् । दशैंका लागि असोज २२ गते अर्थात् भोलीसम्म सुकिला नोट वितरण गर्ने भएको कारण आज र भोलीसम्म यो सङ्ख्यामा तीव्र वृद्धि आउन सक्ने पोखरेलको भनाई छ ।
दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जानकारी दिँदै आएको छ । साथै प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


































