काठमाडौँ। असोज १७ गते अर्थात् भोली घटस्थापना यस वर्षको दशै सुरु हुने दिन । यस वर्षको दशैं आइसक्दा समेत यसको चहलपहल भने बढ्न सकेको छैन । विगतका दशैंहरुमा घटस्थापना सुरु भन्दा एक महिना अगाडिदेखि नै राजधानीका मूख्य व्यापारिक केन्द्रहरूमा चहलपहल बढ्ने गरेको भए पनि यस वर्ष भने सुनसान बनेको छ ।
दशैं सुरु हुन एक–दुई हप्ताअघि बजारमा मान्छेको भिड समालिन सक्ने हुने दरबारमार्ग, असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका मुख्य व्यापारिक केन्द्रहरूमा यस वर्ष भने दशैंँ सुरु हुँदा समेत मान्छेको चहलपहल बढ्न नसकेको कारण व्यवसायी निराशामा परेका छन् ।
चाडपर्व लक्षित गरेर व्यापारीहरूले १० देखी ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरेपनि दशैंको मुखैमा दरबारमार्ग, असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका पसलेहरू फुर्सदिला देखिएका छन् । बाहिर ठुलठुलो अक्षरमा आकर्षक सेल तथा अफरहरूको बोर्ड देखिए पनि पसलभित्र भने मान्छे देखिन मुस्किल बनेको उनीहरूको दुखेसो छ ।
अब त दशैं लागेन र ? भन्ने हाम्रो प्रश्नमा धेरै पसलेहरूको जवाफ छ, ''अरू साल लाग्थ्यो यसपालि भने लाग्ला जस्तो छैन, तपाई नै हेर्नुहोस् न ।’ हामीले यस्तो अवस्था कोभिडको समयमा मात्रै भोगेका थियौ , गतिविधि सुनसान छाउला भन्ने त हामीलाइ लागेको सम्म थिएन '' एक व्यवसायीले भने ।
दरबारमार्गमा रहेको एरिक र पिकको स्वरुम पनि सुनसान छ। फेस्टिभल सेल १५ प्रतिशत भनेर ठुलो पोस्टर टाँसेको पिक ब्राण्डले १५ प्रतिशतमा दशैतिहार अफर भनेर अतिरिक्त ५ प्रतिशत छुट दिँदा पनि व्यापार हुन नसकेको व्यवसायी रविन चौधरीले बताएका छन् ।
दरबारमार्गकै एडिडास स्वरुममा कार्यरत सुनिल महर्जन पनि फुर्सदिला नै देखिन्थे । ‘पोहर परार सालको तुलना गर्दा त यसपालि व्यापार नै नभएको उनको भनाई छ । दशैंको मुखैमा आएर मुलुकमा बाढी–पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको भए पनि मुख्य समस्या आर्थिक मन्दी नै भएको उनको भनाई छ ।
दरबारमार्गको मुखमै पसल रहेका हरिराम महर्जन पनि एक किन्दा अर्को निःशुल्कको अफर दिइरहेका छन् त्यति गर्दा समेत व्यापार नभएको उनको दुखेसो छ । कोरोना आएपछि हरेक दिनको व्यापार एक एक पाइला खुस्किँदै गइरहेको उनको भनाई छ ।
उनले भने, ‘मान्छे नै छैनन्, सुनसान छ । चिया र खाजा खादै दिन बितिरहेको छ। दशैतिहारको चहलपहल नै यसपालि छैन ।’ ‘पहिला पहिला बजारमा मान्छे हुन्थे अव मान्छे नै छैनन् । पोहोर परार सालको जस्तो व्यापार भएको भए यति बेला हामीलाई पत्रकारसँग कुरा गर्न फुर्सद कहाँबाट हुन्थ्यो र रु’ उनले निराशाको भावमा उल्टै प्रश्न उठाए ।
दशैं नजिकैको वर्षाको कारण उत्पन्न भएको विपत्ति र बजारमा आर्थिक मन्दीको प्रभाव तथा देशमा युवाहरु नै नभएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरूको भनाइ छ ।
बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरूको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरूको भनाइ छ ।



































