काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएयता नेप्से निरन्तर ढंगले उकालो लागिरहेको छ । यो हप्तामा मात्रै नेप्से परिसूचक ३००० अंकको आसपास बसिरह्यो । शेयर बजारमा पछिल्लो ४/५ वर्षमा देखिएको उछालले यस क्षेत्रमा नयाँ लगानीकर्ता मात्र थपिदिएको छैन, सँगै कारोबार रकमको आकारलाई पनि बढाइदिएको छ ।
यसरी शेयर बजारको आकर्षण बढिरहँदा त्यहाँ रहेको जोखिमलाई लिएर लगानीकर्ताहरू चनाखो हुन आवश्यक रहेको बताउँछन् शेयर लगानीकर्ता तथा विश्लेषक तीलक कोइराला ।
सबैभन्दा सुरुमा त शेयर बजार प्रवेश गर्न लागेको वा गरिसकेको व्यक्तिले शेयर बजार भनेको जोखिमयुक्त ठाउँ हो भनेर सधैं याद राख्नुपर्छ । जोखिमले भरिएको ठाउँमा लगानी गर्न गइरहेको छु भनेर उसले पहिल्यै पूर्व तयारी गर्नुपर्छ । त्यही ढंगले सोचाइ बनाउनुपर्छ ।
शेयर बजारमा लगानी गर्ने व्यक्तिसँग राम्रो रणनीति तथा अनुभव छ अनि जोखिम लिने र बजारलाई विश्लेषण गर्न सक्ने क्षमता पनि छ भने जोखिम मोल्दा पनि उसलाई फाइदा नै हुन्छ ।
तर ठीक विपरीत जसले अरूले सुनाएको हल्लाका भरमा शेयर बजारमा प्रवेश गरेको छ र बजारको विश्लेषण गर्ने क्षमता पनि छैन भने उसले अन्तिममा पछुताउनु बाहेक केही विकल्प हुँदैन । त्यस्ता व्यक्ति शेयर बजारमा नलागेको नै बेस हुन्छ ।
जस्तै, शेयर कति बेला किन्ने, कति बेला बेच्ने अनि किनेर कति समयसम्म होल्ड गरेर राख्ने भन्ने बारेमा उसले राम्रो गृहकार्य, अध्ययन तथा अनुसन्धान गरेको हुनुपर्छ । नत्र ऊ शेयर बजारमा डुब्ने खतरा रहन्छ । रणनीतिमा प्रष्ट भएका र जोखिम वहन गर्न सक्ने क्षमता भएका धेरैले यही पुँजीबजारमा लगानी गरेर आफ्नो जिन्दगी राम्रो बनाएका पनि छन् ।
बस् कसैले शेयर बजारमा पुँजीगत लाभ पाइन्छ, बोनस पाइन्छ, डिभिडेन्ड पाइन्छ, यस्तो र उस्तो हुन्छ भनिदिएका आधारमा कोही शेयर बजारमा प्रवेश गर्छ भने उसले अहिले लगानी गर्ने सपना नदेखेकै राम्रो हुन्छ । अरूको लहलहैमा लागेर बजारमा आउँदा तपाईं एकदिन डुब्नु नै हुन्छ । कसैले पर्याप्त अध्ययन तथा रणनीति बिना नै लाभ कमाउँछु भन्ने सोच बनाएर शेयर बजारमा प्रवेश गर्छ भने उसको गति चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेझैँ हुनेछ । किनकि यो जोखिमयुक्त क्षेत्र हो भनेर मैले अघि पनि भनिसकेँ ।
शेयर बजारमा आउँदै गर्दा अरू कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । कोही लगानीकर्ता बनेर आउने हो कि ट्रेडर बनेर आउने हो त्यो कुरा पनि महत्त्वपूर्ण हुन्छ । ट्रेडर बनेर आउँदा तपाईंले शेयरहरूको व्यापार गर्नुहुन्छ । त्यसमा जोखिम झन् बढेर जान्छ । लगानीकर्ता बनेर आउँदा पनि जोखिम चाहिँ रहन्छ नै । जस्तो उदाहरणका लागि हेरौं, धेरै लगानीकर्ताहरूले वाणिज्य बैंकको शेयर किनेर राख्नुभएको छ । तर पछिल्लो ५/७ वर्षदेखि राम्रो भाउ नआएर लगानीकर्तारू पछुताउनु परेको छ ।
अहिले बजार बढिराखेको छ, नेप्से कहाँ पुग्ला भन्ने भन्दा पनि राम्रो कम्पनी कुन छ, कति लामो समयको लागि लगानी गर्ने हो त्यो बुझन्पर्छ । अरूलाई सोधर भन्दा पनि आफैंले निर्णय लिनुपर्छ । मेरै सल्लाह सुनेर पनि कसैले शेयर नकिन्नू भनेर भन्छु । मैले आज फलानो कम्पनीको शेयर किन्नुहोस् भनेर भनुँला रे । तर भोलि त्यो कम्पनी नै घाटामा गयो, बन्द भइदियो भने के हुन्छ ? फलानोले मलाई त्यो कम्पनीको शेयर किन्न भनेको थियो भनेर मलाई नै गाली गर्न आउँछन् नि ।
बजारको अनेक खालको प्रवृत्ति हुन्छन् । त्यसको विवेचना आफैँले गर्नुपर्छ । आफैँले स्वअध्ययन गर्नुपर्छ । आफैँले योजना बनाएर अगाडि बढ्नुपर्छ । त्यसो गर्दा मात्र आफूले फाइदा लिन सकिन्छ ।
धेरै कुरामा ध्यान दिनुपर्छ । कर्कलाको पातमा भएको पानी जस्तै हो दोस्रो बजारको लगानी । कर्कलाको पातमा पानी मोती जस्तै देखिन्छ । हावा लाग्यो भने झरेर जान्छ, घाम लाग्दा बाफ भएर उड्छ । हो, शेयर बजार पनि त्यस्तै हो । तपाईं आज लाभमा हुनुहुन्छ भन्दैमा भोलि पनि त्यही कुरा कायम भइराख्छ भन्ने हुँदैन । आफूलाई मै हुँ भन्ने टेक्निकल एनालिष्टले बजार छोडर हिँडेको अवस्था पनि आएका छन् । अनि शेयर बजारमा लगानी गर्न यही सूत्र छ भनेर म भन्दिनँ । बरु संयमित हुनुपर्छ । जोखिम आइपर्दा नडगमगाउनेका लागि शेयर बजार राम्रो हो ।
धेरै मूल्य बढिरहेको शेयरमा लगानीकर्ता हुन्छन् । पछि त्यहाँ गएर फस्ने डर हुन्छ । सामान्य लगानीकर्ता बढी चर्चामा रहेको र मूल्य बढिरेको कम्पनीको पछाडि दौडन्छन् । अनि यही परिपाटीले लगानीकर्तालाई खाडलमा पु¥याइदिन्छ । त्यो भएर बढी चर्चा भइराखेको कम्पनीमा आँखा चिम्लिएर लगानी गर्नु ठीक हुँदैन । अनि राम्रो प्रदर्शन नगरेको कम्पनीको शेयरमा लगानी गरेर पुँजीगत लाभ नपाइराखेको अवस्था पनि थुप्रै लगानीकर्ताको छ ।
बुल या बियरको हावामा लागेर लगानी गर्नुहुँदैन । कम्पनीको वित्तीय अवस्था कस्तो छ त्यसमा ध्यान दिनुपर्छ । त्यहाँ कस्ता लगानीकर्ताले लगानी गरेका छन्, उनीहरूले शेयर फल्न चाहेका छन् कि थुपार्न चाहेका छन् ? आमलगानीकर्ताको आकर्षण कस्तो छ ? ती सबै कुरामा ध्यान दिनुपर्छ ।
बुल छ भनेर लगानी गर्दा पनि घाटा हुन सक्छ । अनि फेरि अब बजार त ओरालो लाग्यो भनेर बजारबाट बाहिर निस्किँदा पनि घाटा हुन सक्छ ।
नेप्से कति पुग्छ, कहाँ पुग्छ भने कुरा आँकलन गरेर बजारमा लगानी गर्न थालियो भने त्यस्ता लगानीकर्ताले गुमाउँछन् । तर नेप्से परिसूचकमा ध्यान नदिई कम्पनीको नाम नहेरी लगानी गर्नेले बुल र बेयर दुवै अवस्थामा राम्रो लाभ कमाइरहेका पनि हुन्छन् । बुल आएको बेला लौ लगानी गरिहाल अनि बेयर आएको बेला लौ सकियो बेचिदेऊ सबै भनेर मैले भन्दिनँ । त्यो लगानीकर्ता आफैँले सुझबुझपूर्वक लिनुपर्ने निर्णय हो ।


































