काठमाडौं । आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा आउने पर्यटकहरूको प्राथमिक उद्देश्यबारे विस्तृत तथ्यांक सार्वजनिक गरेको छ। सर्वेक्षण अनुसार नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक मनोरञ्जन र सांस्कृतिक अनुभवका लागि आउने गरेका छन्।
कुल पर्यटकमध्ये ६०.२ प्रतिशत मनोरञ्जनका लागि, १४.४ प्रतिशत धार्मिक वा तीर्थयात्राका लागि र १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आएको तथ्यांकमा उल्लेख छ।
सन् २०२५ मा मात्र २,५९० आरोहण दलका ९,८२० पर्वतारोहीहरूले हिमाल आरोहण गरेका छन्, जसबाट सरकारलाई १ अर्ब २६ करोड २६ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ।
हवाई सेवातर्फ हाल नेपालमा ५ नेपाली र २७ विदेशी गरी ३२ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित उडान गरिरहेका छन्। देशभर ३५ विमानस्थल सञ्चालनमा छन् भने नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ।
प्रदेशगत पर्यटन पूर्वाधार र सेवाको वितरणमा बागमती प्रदेश ३६.७ प्रतिशत हिस्सासहित अग्रस्थानमा रहेको छ भने कर्णाली प्रदेश ४.२ प्रतिशत मात्र हिस्सासहित सबैभन्दा पछाडि रहेको छ।


































