काठमाडौँ। नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्र मन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।
अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
परराष्ट्र मन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन्। हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ। हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छु, सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन्।
वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए। उक्त कुरा पनि उनले स्मरण गरेका छन्। उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरूसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्याउने अवसरका र उपायबारे कुराकानी गरेको उनको उनले सम्झिएका छन्।
त्यस बेला परराष्ट्र मन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरेका थिए।


































