काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
केन्द्रीय बैंकले आज प्रकाशित गरेको विवरण अनुसार (नेप्से) मा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।
त्यस्तै, नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी,२२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।


































