काठमाडौँ । देशका १६ वटा भन्दा बढी जिल्लाबाट लघुवित्त तथा सहकारी पीडित पैदल यात्रा गरेरै काठमाडौँ आएका छन्।
राजधानी प्रवेश गरेका लघुवित्त तथा सहकारी पीडितहरूले आज बालुवाटार आसपासमा प्रदर्शनी गरेका छन् । उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन । फागुन ६ गते काठमाडौँ आएका उनीहरू न्याय नपाए सम्म नफर्कने घोषणा गरेका छन् ।
त्यस्तै आज मात्रै लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएकोमा सरकार चिन्तित र सजक रहेको बताएका छन् ।


































