काठमाडौँ। प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानीमा वृद्धि भएको हो ।
चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो ।
बैंकले नाफासँगै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ३.१६ प्रतिशतले बढी हो ।
साथै, बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत ६१ करोड ३२ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने ३.४४ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकले कर्मचारीका लागि १ अर्ब ८ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि ४९ करोड ६६ लाख रुपैयाँ बराबरको खर्च गरेको छ ।
बैंकको रिजर्भको आकार २०.६१ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफामा व्यापक गिरावट आएको छ । अघिल्लो आवको प्रथम त्रैमाससम्म ३२ करोड ५१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ३ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ ।
२३ अर्ब ५४ करोड रुपैयाँ बराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको रिटेन्ड अर्निङ १ अर्ब २२ करोड रुपैयाँ बराबर थियो । समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ कायम भएको छ ।


































