काठमाडौं । नेपाल प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ।
उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।
कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डीआईजी,अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षाविज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य रहेका छन्।
समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।


































