काठमाडौँ। बिहीबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांक अनुसार बीमाको दायरा घटेको छ । गत वर्षको तुलनामा उक्त दायरा ३.०४ प्रतिशतले घटेर ४२.७० प्रतिशतमा कायम भएको छ।
गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरूको दायरा ४४ प्रतिशत रहेको थियो । बीमा दायरमा गिरावट आए पनि कम्पनीहरूको कार्यालयहरूमा भने वृद्धि भएको तथ्यांकमा उल्लेख छ । पछिल्लो एक वर्षमा बीमा कम्पनीको शाखाहरू ६.९० प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बीमा कम्पनीहरूको कार्यालय सङ्ख्या २ हजार ९९२ वटा रहेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूको कार्यालय २ हजार ७९९ वटा थियो ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनासम्म बीमा क्षेत्रमा कार्यरत कर्मचारीको सङ्ख्या ११ हजार ६९२ जना पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कर्मचारीहरूको सङ्ख्या ११ हजार १५२ वटा रहेको छ ।यसर्थ बीमा क्षेत्रमा काम गर्ने कर्मचारीको सङ्ख्यामा उक्त अवधिमा ४.८४ प्रतिशतले बढेको छ ।
साथै, यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी सङ्ख्या ५ हजार ८७४ जना र जीवन बीमामा ५ हजार ८१८ जना पुगेको हो ।



































