काठमाडौँ। नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सहित ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण गर्न सुरु गरेको छ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएसँगै थप सजगता अपनाएको हो। राष्ट्रबैंकले वाणिज्य बैंकहरूलाई पत्र काट्दै ती ६ संस्थाले वाणिज्य बैंकहरूमा निक्षेप राखेको छ कि छैन भन्दै सूचना माग गरेको हो ।
समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले कर्णाली विकास बैंक व्यवस्थापन जिम्मा लिएको छ । कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै फर्जी निक्षेप प्रमाणपत्र राष्ट्र बैंकमा पेस गरेको खुलेको थियो ।
राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा पुस महिनाको ७ गतेसम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ मौज्दात रहेको सीबीएसमा प्रविष्टि गरिएको भए पनि छानबिन समिति अनुसन्धान क्रममा उक्त खातामा शून्य मौज्दात रहेको उल्लेख गरेको छ ।
बैंकको उच्च व्यवस्थापनमा रहेका उल्लिखित व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको समेत छानबिन समितिले उल्लेख प्रतिवेदन तयार गरेको छ । यी र यस्तै घटना दोहोरिन थालेपछि केन्द्रीय बैंकले वित्तीय अवस्था कमजोर बन्दै गएका ६ वटा संस्थामाथि निगरानी बढाएर तरलता अवस्था बुझ्न सुरु गरेको हो ।
‘४ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीको निक्षेपको अवस्था बुझन् वाणिज्य बैंकलाई पत्र काटिएको छ,’ राष्ट्र बैंकले सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंकको तरलताको अवस्था विश्लेषण गर्न सुरु गरेको छ ।
यस्तै फाइनान्स कम्पनीतर्फ जानकी फाइनान्स र पोखरा फाइनान्सको विवरण वाणिज्य बैंकहरूसँग माग गरेको हो ।वित्तीय अवस्था कमजोर देखिएको र संस्था सुशासनमा समस्या देखिएको बैंकहरूको तरलता अवस्था विश्लेषण गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
विकास बैंक र फाइनान्स कम्पनीले वाणिज्य बैंकमा निक्षेप राख्न सक्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाको तरलता अवस्था नियमित बुझ्ने क्रममा नियमित प्रक्रिया अन्तर्गत नै उक्त विवरण माग गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोख्रेलले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।































