काठमाडौँ। घरजग्गा कारोबारमा गिरावट आएको छ । भदौ महिनामा ३२ हजार ७ सय ९८ वटा घरजग्गा किनबेच भएको छ । साउन महिनाको तुलनामा भदौमा महिनामा उक्त कारोबारमा कमी आएको हो । साउन महिनामा ४३ हजार बढीको कारोबार भएको थियो ।
देशभरको मालपोत कार्यालयहरूबाट माथि उल्लेखित सङ्ख्यामा घरजग्गाको किनबेच भएको हो नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।
भदौ महिनामा ३८ सय ८८ वटा नामसारीको भएको छ भने ९ हजार २ सय ७२ वटा संशोधनको काम भएको छ । त्यस्तै, २३ सय ८८ वटा हालसाबिक भएको छ । यसैगरी ३६ हजार ८ सय १९ वटा जग्गा रोक्का हुँदा २५ हजार २ सय ६१ वटा जग्गा फुकुवा भएका छन् । यसरी पाँच शीर्षकमा घरजग्गा सम्बन्धी कारोबार भएको हो ।
मालपोत कार्यालयहरूले अघिल्लो महिना (साउन) मा जम्मा ४३ हजार ८ सय ३५ वटा जग्गाको लिखत पारित गरेको थियो भने गत ९२०८०/ ८१ ० भदौमा ३५ हजार ६ सय ८६ वटा जग्गाको लिखत पारित गरेको थियो । भदौ महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले भदौ महिनाभरिमा १ हजार ६ सय ५१ वटा जग्गा लिखत पारित गरेको छ । भद्रपुर, झापामा रहेको मालपोत कार्यालय भद्रपुरबाट १ हजार १ सय ४८ वटा लिखत पारित भएको छ।
त्यस्तै गरी , राजविराज, सप्तरीबाट १ हजार १ सय १, भक्तपुरबाट ७ सय ९६, मंलगवा, सर्लाहीबाट ७ सय ७५, लगनखेल, ललितपुरबाट ७ सय ६२ वटा लिखत पारित भएका छन् । त्यस्तै, सिराहाबाट ७ सय ५७, पर्साबाट ७ सय २९ र कलैया, बाराबाट ७ सय ८ वटा लिखत पारित भएको छ महासंघले जानकारी दिएको छ ।
एक महिनाको अवधिभित्र विभिन्न मालपोत कार्यालयहरूमा लिखत पारित हुने सङ्ख्या घट्दै गएको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ भदौ महिनाभरिमा सबैभन्दा धेरै मालपोत कार्यालय लगनखेल, ललितपुरले राजस्व उठाउन सफल भएको छ ।
उक्त अवधिमा ललितपुर कार्यालयले सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पुँजीगत लाभ कर, विलम्ब शुल्क गरी जम्मा ३० करोड ६१ लाख ५८ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै धेरै राजस्व संकलन गर्नेमा डिल्लीबजार, काठमाडौँ समेत परेको छ । डिल्लीबजारले उक्त समयावधिमा २७ करोड १३ लाख ८५ हजार ८ सय ६७ रुपैयाँ राजस्व उठाएको छ ।
भदौ महिनामा कलंकी काठमाडौँले २६ करोड ८१ लाख ३१ हजार १ सय २५ रुपैयाँ, भक्तपुर मालपोत कार्यालयले २४ करोड ७५ लाख १२ हजार ८८० रुपैयाँ, कास्की कार्यालयले १२ करोड ९२ लाख १२ हजार ४२२ रुपैयाँ र चाहविल, काठमाडौँले १२ करोड ३७ लाख २९ हजार ९३ रुपैयाँ रकम राजस्व उठाएको छ।


































