काठमाडौं । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो ।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
यसअघि मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द भएको थियो ।

































