काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फागुनसम्म बैंकहरुले उक्त रकम बराबरको व्यापार गरेका हुन्। गत वर्षको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ८३ करोड नाफा कमाएका थिए। गत वर्षको तुलनामा यस वर्षको नाफा १३ प्रतिशतले कम हो ।आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा यिनीहरूको नाफामा दबाब परेको देखिन आएको छ । २० बैंकमध्ये सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक अगाडि रहेको छ।

बैंकले ८ महिनाको अवधिमा ४ अर्ब ७२ करोड नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको हो। नाफा सर्वाधिक आर्जन गर्नेमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले उक्त अवधिमा ३ अर्ब ४३ करोड नाफा कमाएको छ। यता, प्राइम कमार्सियल बैंकले २अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड, नेपाल इन्भेस्टमेन्ट मेगाले २ अर्ब ८० करोड, एनआइसी एसियाले २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यता, एभरेष्ट र स्टान्डर्ड चार्टर्डले क्रमशः २ अर्ब २९ करोड र २ अर्ब ८ करोड नाफा आर्जन गरेका छन् । सबैभन्दा कम नेपाल एसबिआई बैंकले १ अर्ब ८ करोड नाफा आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।



































