काठमाडौं। नेपाल राष्ट्रबैंकले यस वर्षको दशैं तिहारलाई लक्षित गरेर नयाँ नोट नछाप्ने भएको छ । यस अगाडिका वर्षहरू दशैं तिहारलाई लक्षित गरेर नेपाल राष्ट्रबैंकले नयाँ नोट छापेर वितरण गर्ने गरेको भएपनी यस वर्षबाट भने नयाँ नोटको ठाउँमा सुकिला नोटको प्रयोग गर्ने राष्ट्रबैंकले जनाएको छ ।
नेपाल राष्ट्रबैंकका उपप्रवक्ता तथा सूचना अधिकारी दिल्लीराम पोखरेलले आर्थिक भ्वाईससँग कुराकानी गर्दै नोट व्यवस्थापन, छपाई एक ठाँउबाट अर्को ठाउँमा गरिने ट्रान्सफर लगायतका शीर्षकमा बर्सेनि १ अर्ब रुपैयाँ बढीको आर्थिक खर्च र ठुलो मात्रामा जनशक्तिको आवश्यकता पर्ने भएको कारण त्यसलाई व्यवस्थापन र पुराना भनिएका तर सुकिला नोटको परिचालनका लागी यस वर्षको दशैं तिहारलाई लक्षित गरे नयाँ नोट छपाइको काम नगर्ने निर्णय भएको जानकारी दिएका छन् ।
राष्ट्रबैंकले अब नयाँ नोट नै वितरण नगर्ने हो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् '' नोट नै वितरण नगर्ने भन्ने होइन' तर नोट नयाँ छाप्ने काम नगर्ने भन्ने हो ।
विशेषगरी दशैं तिहार जस्ता चार्ड पर्वमा नयाँ तर साना नोटको धेरै कारोबार हुने गरेको छ । यद्यपि उक्त नोटमा टीका टाँसिने वा स साना बच्चाहरूको ख्याल नपुग्दा झनै चाँडो झुत्रो बन्ने समस्या आएको र त्यसलाई सटिङ गर्दा ठुलो मात्रामा खर्च आउने गरेको कारण बिस्तारै नयाँ नोटको वितरण प्रक्रिया बन्द गर्ने योजनामा राष्ट्रबैंक रहेको पोखरेलको भनाई छ ।
नयाँ नोटको सम्बन्ध हाम्रो संस्कृतिसँग जोडिएर बसेको छ यसकारण दशैं तिहार आयो भन्ने बित्तिकै नयाँ नोटको जोहो गर्ने भन्ने हाम्रो मस्तिष्कमा आउँछ यो सोचलाई बिस्तारै चिर्दै नयाँ नोट नभएपनी हुन्छ है भन्ने अवस्थामा पुर्याउन जरुरी छ । सानो दरका नोटको प्रसस्ट मात्रामा प्रयोग हुँदै आएको छ ।
थप स्पष्ट पार्दै भने 'यसरी नयाँ नोट नभएर फ्रेस नोटको परिचालन गर्दा हाम्रो खर्चमा धेरै कमी आउँछ । ती नोटहरूले कम्तीमा आयु बराबरको प्रयोगमा आउन पाउँछन् भन्ने पनि हो । हामीले बिस्तारै बानीको विकास गर्न जरुरी छ । यहाँ चार्ड पर्वमा नोट नै नदिने भनिएको छैन । बरु सुकिला वा सफा वितरण गर्ने केन्द्रीय बैंकको निर्णय छ यसले संस्कृति पनि बचाउँछ र हामीसँग भएको पुराना तर सुकिला नोटको प्रयोग पनि हुन्छ साथै राज्यको अर्बौँ रुपैयाँ जोगिन्छ भन्ने धारणा हो'

































