काठमाडौं । पूर्वअर्थमन्त्री एवंम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.युवराज खतिवडाले हालका राष्ट्रिय गौरवका आयोजना भनिएका आयोजनाहरु गौरव गर्न लायक नभएको बताएका छन् । बुधबारदेखि राष्ट्रिय योजना आयोगले शुरु गरेको १६औं पञ्चवर्षिय योजनाको छलफलमा भाग लिदै डा.खतिवडाले राष्ट्रिय महत्व र उपलब्धीमूलक आयोजनाहरु छनोट गर्न नसकिएको बताए ।
बुधबारदेखि राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षिय योजनाको तयारी थालेको छ । आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा जानेगरी नयाँ पञ्चवर्षि योजनाको तयारी थालेको आयोगले बुधबार विज्ञहरुलाई डाकेर सल्लाह सुुझाव माग गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री, पूर्व उपाध्यक्षहरु डा. पृथ्वीराज लिगल, डा. जगदिस चन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा उपस्थित थिए । यस्तै, आयोगका पूर्व सदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल, डा. जनकराज शाह, डा.गोविन्द नेपालका साथै त्रिभुवन विश्व विद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डिन डा. कुसुम शाक्य र अर्थशास्त्र विभाग प्रमुख डा.शिवराज अधिकारी समेत छलफल कार्यक्रमा उपस्थित थिए ।
कार्यक्रममा आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने बताए । यस्तै राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले राष्ट्रिय योजना आयोगलाई वलियो बनाउनु पर्ने बताए । उनले अबका योजनाहरु उत्पादनमूखी हुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यहीँ बालीमात्रै उत्पादन गर्ने नीति लिनुपर्ने बताए । वाली उत्पादन हुन नसक्ने ठाउँहरुमा पशुपंक्षी पालन वा अन्य के विकल्प हुन्छ त्यसबारे सोच्नु पर्ने बताए । साथै, डा.क्षेत्रीले शिक्षा क्षेत्रमा समेत निकै ठूलो सुधारको आवश्यकता रहेको औंल्याए ।



































