काठमाडौँ । एक महिनामा वैदेशिक रोजगारीका लागि ५७ हजार बढी नेपाली बिदेसिएका छन्। विभिन्न देशमा भदौ महिनामा मात्रै रोजगारीको सिलसिलामा बाहिरीलेको सङ्ख्या ५७ हजार ४९३ पुगेको छ ।
वैदेशिक रोजगार विभागको एक तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन् । भने पुनः श्रम स्वीकृति १७ हजार ९३६ जनाले लिएका छन्।
उक्त अवधिमा बाहिरिएका मध्यमा ५० हजार ७ सय ७०जना पुरुष र ६ हजार ७ सय २३ जना महिला रहेका छन् । साथै, म्यानपावर कम्पनी मार्फत उक्त अवधिमा २९ हजार ५२८ जना विदेशीएका छन् । भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना विदेशीएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।
भदौ महिनामा नेपाली श्रमिकको रोजाइमा युएई परेको छ । उक्त अवधिमा युएईमा १८ हजार ६०५ जना नेपाली गएका छन्। सोही समयावधिमा क्रमशः कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५,कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली रोजगारका लागि गएको विभागको तथ्याङ्क उल्लेख छ ।
यता मलेसिया जाने श्रमिकको संख्यामा भने गिरावट आएको छ । भदौ महिनामा एक हजार १९५ श्रमिक मात्रै मलेसिया गएका छन् ।


































