काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेबोनका अध्यक्ष रमेश हमाल नआएको भन्दै सदस्यहरूले आपत्ति जनाएका छन्।
समितिले बिहीबार बीमा कम्पनीको प्रिमियममा सेयर जारी गर्ने व्यवस्थाको सम्बन्धमा छलफल गर्न बैठक बोलाएको थियो। छलफलमा अध्यक्ष हमालको अनिवार्य उपस्थिति आवश्यक रहे पनि आफू नआएर अन्य कर्मचारी पठाएको भन्दै समिति सदस्यहरूले आपत्ति जनाएका छन् ।
समिति सदस्य हरि ढकालले हिमालयन रिइन्स्योरेन्सको सेयर प्रिमियममा जारी गर्न दिँदा बीमा ऐनको दफाको बर्खिलाप भएको दाबी गरेका छन्।
त्यस्तै समिति सदस्य अमरेशकुमार सिंहले हिमालयन रिइन्स्योरेन्सको लागि धितोपत्र बोर्डले धितोपत्र नियमावली नै संशोधन गरेर लाभ दिएको बताएका छन् ।
यसअघिसम्म ३ वर्ष लगातार नाफा भएको कम्पनीले मात्रै आइपिओ जारी गर्न पाउने व्यवस्था दुई वर्षमा ल्याइएको उनको भनाइ छ। उनले ऐन छलेर धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरिएको बताए।
प्रिमियम मूल्यमा सेयर जारी गर्ने सम्बन्धमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले कुनै रोकावट नभएको बताएका छन्। कम्पनी ऐन अनुसार मापदण्ड पूरा गरेर आउने कम्पनीलाई रोकावट नहुने उनले बताए।
बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले धितोपत्र बोर्ड र कम्पनी ऐनअनुसार अनुमति माग्ने कम्पनीको स्वीकृत बोर्डले गरे पनि पुनः सेयर जारी गर्ने प्रक्रियाको लागि सेबोन पठाइने बताए।

































