काठमाडौँ। बाँकेमा अवस्थित जडीबुटी प्रशोधन केन्द्रमा आगलागी भएको छ । जानकी गाउँपालिका वडा नं ६, पिप्रहवास्थित जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार बिहानदेखि आगलागी भएको हो ।
जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा जम्मा गरी राखिएका सल्लाको खोटो तथा दाउरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आज बिहान ६ः३० बजेको समयमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरी कार्यालयको भनाई छ ।
नेपालगन्ज विमानस्थलको दमकल लगायत बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानल, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, रुपैडिहा भारतको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
हाल उक्त जडीबुटी प्रशोधन केन्द्रमा के कति क्षति भएको हो यकिन हुन नसकेको प्रहरीको भनाई छ । अहिलेसम्म समेत आगलागी पूर्ण रूपमा नियन्त्रणमा नआएको कारण क्षतिको मापन गर्ने स्थिति नबनेको र आगलागीमा मानवीय क्षति भने केही नभएको प्रहरीले जानकारी दिएको छ ।


































