काठमाडौं । चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ । यहाँ बाँध बाँधेर थ्री गर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ ।
चिनियाँ अधिकारीहरुका अनुसार यहाँ बाँध बाँधेर ३०० अर्ब किलोवाट बिजुली उत्पादन गरिने छ । चीनको थ्री गर्जेज बाँधबाट ८८।२ अर्ब किलोवाट बिजुली उत्पादन हुँदै आएको छ ।
भारत र बंगलादेशको चिन्ता
यसले नदी तटीय क्षेत्र प्रभावित हुने अनुमान समेत गरिन्छ । तर चिनियाँ अधिकारीहरुले यसबाट कसैलाई कुनै प्रकारको हानि नहुने बताउने गरेका छन् । चीनले यारलुङ नदीमा बाँध बाँधेर बिजुली निकाल्ने समाचार पहिले पनि पटक–पटक सार्वजनिक हुने गरेको थियो ।
तर निर्माणको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन । यसबाट कति घरधुरी प्रभावित हुन्छन्, जमिनको कति क्षेत्रफल ओगट्छ र पर्यावरणमा कति क्षति पुग्छ भन्ने पनि स्पष्ट छैन ।


































