काठमाडौँ । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहोर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरे । उक्त सफाइ टोलीमा संलग्न पूmर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।
प्रधानसेनापति शर्माले सो अवसरमा उनीहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गरे । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवन पद्धतिसँग जोडिएको तथा प्रकृतिको दीगोपन र पर्यावरण जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए । नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दरकुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको बताए । हिमाल सफाइ कार्य जटिल र साहसिक भएको जनाउँदै उनले हिमाललाई वातावनुकूलित तुल्याउने पहिलो शर्त रहेको बताए ।
अभियान सञ्चालनका क्रममा स्थानीय शेर्पाले केही समय भए पनि रोजगारी प्राप्त गरेको तथा अरु आरोहीलाई पनि उत्प्रेरणा प्राप्त भएको सो अवसरमा जानकारी दिइयो । नेपाल वातावरण पत्रकार सङ्घका अध्यक्ष रोशनी अधिकारीले वातावरण संरक्षण र हिमालको सुन्दरता कायम राख्ने सिलसिलामा सञ्चालन भएको अभियान फोहर सङ्कलन र पर्यावरण संरक्षणका लागि प्रचारप्रसारका हिसाबले महत्त्वपूर्ण सावित हुने धारणा व्यक्त गरे ।
सफा हिमाल अभियानका क्रममा बिरामी भएका छमध्ये चार जनाको अहिले भारतको मुम्बईमा उपचार भइरहेको छ । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ । सेनाले सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहर सङ्कलन भइसकेको छ । सफा र स्वच्छ वातावरणसहितको पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्नु आजको चुनौती भएको त्यसमा संलग्न व्यक्तिले प्रतिक्रिया दिएका छन् । पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाले जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटबाट प्रभावित हिमालको ओज र चमक कायम राख्न अभियान कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गरे ।
उनले भने, “हिमाल आरोहणबाट राजस्वमा ठूलो योगदान पुर्याएको छ । हिमालको सुन्दरता कायम राख्न बनेका ऐन, नियम र अनुगमन कडाइका साथ हुनुपर्छ ।” सो अवसरमा अभियानमा संलग्न विभिन्न क्षेत्रमा महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरियो ।

































