काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपाल सरकारको कुल खर्च रु.५५६ अर्ब १२ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च रु ३६३ अर्ब ५५ करोड, पुँजीगत खर्च रु ४० अर्ब ८० करोड र वित्तीय व्यवस्था खर्च रु.१५१ अर्ब ७७ करोड रहेको नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.३९९ अर्ब ६० करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.३६२ अर्ब ५८ करोड र गैर कर राजस्व रु.३७ अर्ब २ करोड परिचालन भएको छ ।
नेपाल सरकारको नगद मौज्दात
त्यस्तै आर्थिक वर्ष २०८१ मंसिर मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२१९ अर्ब ८३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९१ अर्ब ७८ करोड रहेको थियो।
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.३२ अर्ब ६३ करोड र स्रोत परिचालन रु.६९ अर्ब ५४ करोड रहेको छ। प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.५५ अर्ब २७ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१४ अर्ब २७ करोड रहेको उक्त वित्तीय विवरणमा उल्लेख छ ।


































