काठमाडौँ । नेपाली काग्रेसले सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने माग गर्दै आएको विषयमा सरकार लचिलो देखिएको छ ।
हिजो अबेर राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले सबै दलका शीर्ष नेताहरूबिच छलफल गर्दै सहमति जुट्ने स्थिति बनेको जनाइएको छ ।
दलहरू ७ सदस्यीय छानबिन समिति गठन गर्ने विषयमा लचिलो देखिएका छन् । समिति गठनसँगै संसद्को अवरोध हट्ने भएको छ ।
उक्त छलफलमा सहभागी एक शीर्ष नेताका अनुसार करिब करिब सहमति जुटेको छ। ‘ मङ्गलवार छानबिन समिति बन्ने र कार्यादेश जारी हुने लगभग पक्कापक्की भएको छ ।
७ सदस्यीय संसदीय छानबिन समिति गठन गर्ने तयारी दलहरूको छ । समिति गठन हुनुअघि संसदीय छानबिन समिति गठनको कार्यादेश बनाउन लागि गठन भएको समितिले टीओआर टुंगो लगाउने छ । आज बिहान ११ बजे बस्ने कार्यदलको बैठकले टीओआरलाई अन्तिम रुप दिनेछ ।
कांग्रेस र एमालेका २-२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक-एक जना सदस्य रहने गरी संसदीय समिति बनाउने तयारी छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ ।


































