काठमाडौँ । यस साता सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पछिल्लो कारोबार भएको दिन, शुक्रवार सुनको मूल्यले नयाँ उचाइ बनाएको हो ।
साताको पहिलो दिन सुन तोलाको एक लाख ६० हजार ६०० रुपैयाँ तोकिएको थियो । त्यसपछि, सुनको मूल्य सस्तिएर साताको दोस्रो दिन एक लाख ६० हजार ५०० रुपैयाँ र तेस्रो दिन एक लाख ६० हजार रुपैयाँमा झर्यो ।
यद्धपी, बुधवारदेखि भने सुनको भाउ बढेको थियो । त्यस दिन, सुन प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँ तोकिएको थियो । शुक्रवार सुन तोलाकै एक लाख ६१ हजार ३०० रुपैयाँको उचाइमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मूल्य वृद्धिमा टेवा पुगेको विश्लेषकहरूको भनाई छ।

यो मूल्य साताको पहिलो दिन,आइतबारको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रवार तोलामा ७०० रुपैयाँले बढी हो । यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ। आइतबार, प्रतितोला एक हजार ९४५ रुपैयाँ रहेको चाँदीको मूल्य लगातार दुई दिन घटेर मङ्गलवार तोलाको एक हजार ९२५ रुपैयाँमा झरेको थियो । शुक्रवार चाँदीको मूल्यले प्रतितोला एक हजार ९८० रुपैयाँ कायम भई उच्च रेकर्ड बनायो ।


































